नेपाली लेखक, कथाकार, उपन्यासकार, समालोचक

इन्द्रबहादुर राई (Indra Bahadur Rai) नेपाली मूलका दार्जिलिङ निवासी भारतीय नेपाली साहित्यकार हुन्। उनले नेपाली साहित्य र भाषाको सृबृद्धिमा दिएको योगदान अविस्मरणीय छ। यसको उच्च मूल्याङ्कन स्वरूप उनलाई विभिन्न पुरस्कार तथा सम्मानबाट विभूषित गरिएको छ।

इन्द्रबहादुर राई

  • जन्म: वि.सं १९८४ माघ १७ गते, खर्साङ, दार्जिलिङ
  • मृत्यु: वि.सं २०७४ फाल्गुण २२ गते, दार्जिलिङ
  • राष्ट्रियता: भारतीय
  • नागरिकता: भारतीय
  • शिक्षा: एम.ए.(अंग्रेजी)
  • पेशा: लेखन
  • चिनारीको कारण: उपन्यास, कथा, निबन्ध, समालोचना
  • प्रशिद्ध कृति: आज रमिता छ, विपना कतिपय, कठपुतलीको मन, नेपाली उपन्यासका आधारहरू, पहाड र खोलाहरु, लेखहरु र झ्याल, लीला प्रस्तावना
  • गृहनगर: खर्साङ
  • मातापिता: रणवीर राई, हस्तमाया देवान
  • पुरस्कार: जगदम्बाश्री पुरस्कार २०५१, साहित्य अकेडेमी पुरस्कार सन् १९७५

जीवन

इन्द्रबहादुरको जन्म वि.सं. १९८४ साल माघ १७ गते दार्जिलिङ, खर्साङ, बालासन खोलाको बगर, भारतमा बाबु रणवीर राई र आमा हस्तमाया देवानको सुपुत्रका रूपमा भएको हो। राई आफ्नो जन्मका सम्बन्धमा भनेकाछन्, “मेरा बाबुआमा उक्त खोलाको पुल निर्माणको काममा खटिरहेका बेला त्यहीँ बगरमा जन्मिएको अरे”। निम्न आय भएको परिवारमा जन्मे पनि उनको शिक्षादीक्षामा भने कुनै कमी हुन पाएन। अङ्ग्रेजी साहित्यमा स्नातकोत्तर गरेपछि प्राध्यापनमा लागे। पहिलो सङ्ग्रहका रूपमा विपना कतिपय सन् १९६१ मा आएको हो। उपन्यास चाहिँ सन् १९५८ मै लेखिसिध्याएको भएता पनि तर प्रकाशित हुँदा भने सन् १९६४ पुग्यो। यिनै कृतिले राईलाई चिनाए।

उनी आफूलाई प्रभाव पारेका लेखक र कृतिका सम्बन्धमा भनेकाछन्, ” मैले त्यसबेला पढेको कितावमा सन् १८६५ मा प्रकाशित माथ्यु आर्नोल्डको ‘एसेज इन क्रिटिसिज्म’ थियो र त्यसले धेरै प्रभाव पार्‍यो। त्यहाँ गेटेको बारेमा लेख्दा-जीवन र जगत् भन्ने शब्दहरू लेखिएका पाएँ र यसैलाई अहिलेसम्म लेख्ने कोसिसमा छु। अध्ययन गर्दैजाँदा आफ्नो बाटो आफैँ बन्दै जाँदोरहेछ। जीवन र जगतलाई पढेर लेख्दैगर्दा प्रेमचन्द्र, रवीन्द्रनाथहरू पनि पढिए। त्यसपछि अर्को सजिलो पुस्तक भेटेँ-समरसेट ममको। तीन ठेलीको उक्त कृतिमा एक ठेलीमा सय कथा थिए। त्यही ठेलीको प्रभावबाट विपना कतिपय लेखेँ बीस दिनमा।”

लीलालेखनको प्रथम आधारकृतिका रूपमा उहाँको ‘कठपुतलीको मन’ कथासङ्ग्रहलाई लिइन्छ। अहिलेका उत्तरआधुनिकतावादीहरूले पनि यसैलाई नै उत्तरआधुनिकताको प्रारम्भ विन्दु मानेका छन्। ‘नेपाली उपन्यासका आधारहरू’ समालोचना कृतिका लागि सन् १९७५ को ‘साहित्य अकादमी पुरस्कार’ नै प्राप्त गरे। कथा, उपन्यास, समालोचना, निबन्ध र सम्पादनका बेजोड शिल्पकार राई ८४ वर्ष (वि सं २०६८) को उमेरमा पनि निरन्तर साहित्य साधनामै छन्। आफ्नो लेखनका सम्बन्धमा उहाँ भन्नुहुन्छ- लेखुँला वा लेख्नुपर्छ जस्तो त अनेकथोक लाग्दछन्। उपन्यास एउटा मात्र लेखियो, अझ एउटासम्म लेख्नपर्नेझैँ लाग्छ। समालोचना लेखनमा सबैको सहमति पाउनसक्ने नयाँ नेपाली समालोचना पद्धति तयार गर्नुपर्ने पनि लाग्छ। एउटा नाटक पनि लेख्न मन छ। धेरै बाटा हिँड्न चाहेर पनि हिँड्नुपर्छ एउटै बाटो र परिस्थितिले जे लेखाउँछ, त्यही लेख्ने काम हुँदोरहेछ।

उनका सबै कृतिहरू पाठकले अब्बल ठहर्‍याएका छन्। अहिले भर्खरै पनि उनका छानिएका प्रतिनिधि कथाहरूको सङ्ग्रह निस्किएको छ नेपालबाटै। 

लेखकलाई त झन् आफ्ना सन्तान सबै बराबरी नै लाग्छन् तर पनि रोज्नैपर्दा लेखकले एउटालाई रोज्छ नै। उनी पनि पाठकीय मूल्याङ्कनलाई पछ्याउँदै भन्छन्, प्रिय कृति यही नै एक हो भन्न मलाई गाह्रो लाग्छ। बरू पाठकले कुन कृतिलाई धेरै रुचाएको देखियो, त्यताबाट उत्तर गर्न सजिलो होला। उता भारततर्फकाले ‘दार्जिलिङमा नेपाली नाटकको अर्धशताब्दी’ कृतिलाई धेरै रुचाएको पाइयो। यता नेपालतर्फ आउँदा क्याम्पसका प्राध्यापकहरूसँग कुराकानी हुँदा समालोचनाका पुस्तक ज्यादा रुचाएको पाइयो।

तेस्रो आयामका प्रवर्तक

तेस्रो आयामको एक अभियन्ताका रूपमा स्थापित राईका अनुसार आयामको प्रारम्भ सन् १९६३ मा समालोचक गणेशबहादुर प्रसाईंले दार्जिलिङमा वैरागी काइँलाको, इन्द्रबहादुर राई र ईश्वरवल्लभ तीन जनालाई भेट गराइदिनुभए पछि भएको हो। तीनमध्ये जेठो राई त्यस बखत ३०/३१ को मात्रै थिएँ। उनले एक सन्दर्भमा भनेका छन् ” काइँलाले टी.एस.इलियटको किताब पढ्नुभएछ। वेन जोन्सनका बारेमा लेखेको कुराले प्रभाव पारेको हामी दुईलाई बताउनुभयो। त्यसमा तेस्रो आयाम अर्थात् लेखाइमा लम्बाई, चौडाई र मोटाई -गहनता) हुनुपर्छ भनिएको रहेछ। अनि हामी काँचा केटा पनि मोटाईको खोजीमा लाग्यौँ। त्यसैसाल काइँलालाई सम्पादक राखेर ‘तेस्रो आयाम’ पत्रिका निकाल्यौँ। हामी चार आयामका छौँ तर बोल्दा-लेख्दा दुई आयाम मात्र हुन्छ। त्यसैले सम्पूर्णतालाई नारा बनायौँ। 

‘मध्यरातपछिको सडकसित मातेको मान्छेको भाषण’ कवितामा काइँलाले यही आयाम भित्र्याउनु भयो र ‘बन्द कुइरोमा नानीको पाइला’ शीर्षक कवितामा पूर्ण अर्थात् चारै आयामको मान्छे बन्न नानीलाई आहृवान गर्नुभएको छ वल्लभले। यो भनेको पूर्णताको खोजी हो। मान्छे कालमा, समयमा बाँचेको हुन्छ र समय एउटै छ। अविभाजित समयलाई लेख्ने प्रयास हो यो। फेरि मिथकको टेक्निक खोजी भयो साथीहरूबाट र सम्पूर्णताको खोजीमा चित्रकारहरू सहयोगी भए। दायाँ, बायाँ, तल, माथि जताबाट हेर्दा पनि चित्र फरक देखिन्छ तर रूप सिङ्गो एउटै हो। यो सम्पूर्णताको कोसिस ‘क्युविजम्’ हो। मनले गरेको अनुभवअनुसारको लेख्नुपर्छ। यसको मूल आधार भनेको बौद्धिकता हो।”

तेस्रो आयामले एक किसिमको चर्चा पाइसकेपछि त्यो त्यतिकै छोडिएजस्तो भयो। उता इन्द्रबहादुर राईले यसैबीचमा लीलालेखनलाई चर्चामा ल्याउनुभयो। उनी नै मुख्य हुनुभएको र उनले नै बेवास्ता गरेर तेस्रो आयाम धरापमा परेको त होइन भन्ने जिज्ञासामा उहाको भनाई अलि बेग्लै छ, “तेस्रो आयाम र लीलालेखन दुई भिन्न थोक होइनन्, एउटालाई लिएपछि अर्को छाडिने। तेस्रो आयामबाटै लीलालेखन बढेको हो तर भिन्न नै छैन पनि भन सकिँदैन। केही आ-आफ्नो विशेषता छन् र धेरै मार्गहरूबाट छानेर एउटा मार्ग हिँड्नुपर्छ। अहिले पछिल्लो नै लेख्नमा लागेका छौँ। यसरी लाग्नेहरूमा दुईचार नाम उल्लेख नगर्दा साहित्यिक समलोचनामा केही भूल हुनजान्छ। लीलालेखनमा साथ दिनेहरूमा कृष्ण धरावासी, रत्नमणि नेपाल, कृष्ण बराल, विनय रावल, सुन्दर मानन्धर, कुमार भट्टराई छन्। उहाँहरूले लीलाबोधका उपन्यास, कथासङ्ग्रह र कवितासङ्ग्रह प्रकाशित गरिसक्नुभएको छ। भन्नैपर्ने छ- लीलालेखनले नेपाली साहित्यमा लेखिने नयाँ विषयवस्तु दिनसकेको छ। वैरागी काइँलालाई लीलालेखनको प्रारम्भकर्ता प्रथम व्यक्ति भने पनि हुन्छ, यसमा चूक हुनेछैन तर स्वर्गीय वल्लभ भने यता आउनुभएन। स्थिर विन्दु अर्थात् वस्तुताको खोजीका क्रममा लीला आयो। सबै मानिसमा प्रकृतिले दिएको एकथोक हुन्छ। त्यो जिज्ञासु स्वभावले नै मान्छेलाई डोर्‍याएको हुन्छ। हाम्रो साहित्यमा कल्पना, भावना र मीठास धेरै भए पनि बौद्धिकताको कमी थियो। 

त्यसो त सम, देवकोटा, लेखनाथमा बौद्धिकता नभएको होइन तर हाम्रो बेलाको जस्तो बौद्धिकताको कमीझै लागेर खोजी गरियो। हाम्रो बेलाको भनेको धर्म, दर्शन, विज्ञान, सबैबाट ज्ञान लिएर लेखौँ र समाजलाई चाहिएको जस्तो दिउँ भन्ने हो। त्यसैले आइन्सटाइनको सापेक्षतावादलाई अँगालियो। त्यसले कुनै पनि कुरा सधैँ एकै हुँदैन भनेको छ। एक दृष्टिबाट राम्रो लागेको अर्को दृष्टिबाट नराम्रो लाग्न पनि सक्छ। वस्तुको वजन ठाउँअनुसार फरक पर्छ। गतिअनुसार लम्बाई पनि फरक हुन्छ। त्यसैले हाम्रो जीवनमा आउने हरेक कुरा पनि एकै हुँदैनन् भनेर नयाँ आधार समाएको हो। विश्वमा सबै चिज गतिशील छन्, रूप फेरिइरहन्छन् र सबै बदलिइरहने प्रक्रियामा छन्, यस्तो परिवर्तनलाई के भन्ने त भनेर खोज्दा ‘लीला’ भनिएको हो।”

कृतिहरू

उपन्यास

▪ आज रमिता छ (उपन्यास, सन् १९६४)

कथासंग्रह

▪ विपना कतिपय (कथासँग्रह, सन् १९६१)

▪ कथास्था (कथासँग्रह, सन् १९७२)

निबन्धसंग्रह

▪ कठपुतलीको मन (निबन्धसँग्रह, सन् १९८९)

▪ पहाड र खोला (निबन्धसँग्रह, सन् १९९३)

▪ लेखहरू र झ्याल (निबन्धसँग्रह, सन् २०००)

समालोचना

▪ सेतो ख्याकको बनोट र बुनोट (समालोचना, वि.सं. २०६३)

▪ टिपेका टिप्पणीहरू (समालोचना सँग्रह, सन् १९६६)

▪ नेपाली उपन्यासका आधारहरू (समालोचना सँग्रह, सन् १९७४)

▪ सन्दर्भमा ईश्वरबल्लभका कविता (समालोचना, सन् १९७६)

▪ साहित्यको अपहरण. मार्क्सवादी प्रतिवद्धता (समालोचना, सन् १९८३)

▪ दार्जीलिङमा नेपाली नाटकको अर्धशताब्दी (सन् १९८४)

▪ अर्थहरूको पछिल्तिर (समालोचना, सन् १९९४)

▪ पृष्ठ पृष्ठ (समालोचना, सन् १९९५)

▪ लीला प्रस्तावना (समालोचना, वि. सं. २०५९)

पुरस्कार

विगत ४५ वर्षदेखि नेपाली साहित्यका साधनामा निरन्तर संलग्न रही कथा, उपन्यास, निबन्ध र समालोचना आदि विविध विधामा नवीन प्रवृत्तीका उत्कृष्ट रचनाहरूद्वारा नेपाली वाङ्मयको श्रीवृद्धिका निम्ति अतिविशिष्ट योगदान वि. सं. २०५१ सालको जगदम्बाश्री पुरस्कार प्रदान गरिएको थियो। नेपाली उपन्यासका आधारहरूका लागि सन् १९७५ को साहित्य एकेडेमी पुरस्कार प्राप्त गरे। –संकलन: भोला बिक्रम राई

सन्दर्भ सामाग्री

  • विकिरिडिया
  • बिभिन्न अनलाइन मिडिया