भोला बिक्रम राई

प्रारम्भ 

२००७ साल क्रान्तिका क्रान्तिनायक राम प्रसाद राई बाबु धोज बिर राई र आमा रत्न माया राईको कोखबाट १९६५ साल फागुन १८ गते भोजपुरको बासिखोरामा जन्मिएका हुन्।

वि.सं. १९७८ मा ब्रिटिस–भारत गोरखा सेनामा भर्ती भए । नौ वर्षपछि नाम कटुवा भएर फर्किएका उनी राणाको फौज (मिलिसिया)मा रहेका दाइ सुबेदार जर्नसिंहको साथ लागी काठमाडौँ गए । घोडेजात्राको बेला ‘बेइमान घोडा’लाई नियन्त्रणमा लिएपछि प्रभावित भई भीम शमशेरले उनलाई सिधैँ सुबेदार पदमा नियुक्ति दिएका थिए । 

२००७ सालको क्रान्तिको नेतृत्व

मिलिसियामा हुँदा राणाशासनलाई नजिकबाट नियालेका उनी गङ्गालाल श्रेष्ठ, दशरथ चन्द, धर्मभक्त माथेमा र शुक्रराज शास्त्रीलगायतको सम्पर्कमा पुगेको देखिन्छ । उनको निकट सम्बन्ध प्रजापरिषद्सँग थियो । उनी क्रान्तिको पक्षमा लागे पनि राणाहरूले प्रमाण अभावमा कारबाही गर्न सकेका थिएनन् । 

प्रजापरिषद्सँगको सम्बन्धबाट टाढा गराउन उनलाई खोटाङमा खटाएको देखिन्छ । वि.सं. २००६ मा खोटाङको सहायक बडाहाकिम पदबाट राजीनामा दिएपछि भने उनी औपचारिकरूपमा क्रान्तिको पक्षमा लागेका थिए । 

सहायक बडाहाकिम पदबाट राजीनामा दिनुपरेपछि रामप्रसाद समाज सेवामा लागे । त्यही बेला उनको राजनीतिक सक्रियता पनि बढ्दै थियो । कांग्रेसको बैरगनिया सम्मेलनमा सहभागी भई फर्किएपछि भोेजपुर क्षेत्रमा सङ्गठन विस्तारमा लागे । बैरगनिया सम्मेलनले नै जहानियाँ राणाशासनविरुद्ध सशस्त्र क्रान्तिमा जाने निर्णय गरेको थियो । प्रजातान्त्रिक लडाइँका लागि जिम्मावाल र भूतपूर्व गोरखा सैनिकलाई साथ लिएर जनमुक्ति सेना गठन गरी अघि बढेका उनीसहित नारदमुनि थुलुङलगायतको नेतृत्वले पहिलोपटक २४ मङ्सिर २००७ मा बिनारक्तपात भोजपुर कब्जा गरेको थियो । एवंरीतले रामप्रसादकै योजनाअनुरूप पूर्वका अधिकांश क्षेत्र (माझकिरात, वल्लो किराँत र पल्लो किरात–लिम्बूवान) राणाको हातबाट मुक्त हुँदै गए । 

उनले जनसरकार प्रमुख भई भोजपुरबाट पूर्वी क्षेत्रमा सैन्य प्रशासनसमेत चलाएका थिए । रामेछाप कब्जा गरिसकेपछि भने दिल्ली सम्झौता भएको थियो । चरिकोटसम्म विजयक प्राप्त गर्दै अघि बढेका उनी सम्झौताबाट असन्तुष्ट बनी भोजपुर फर्किए । प्रतिक्रान्तिकारीको षड्यन्त्रमा परी भोजपुरमै पक्राउ परेका उनलाई २६ दिन जेलमा राखिएको थियो । उनलाई जीबी याक्थुङ्बा र सीबी बान्तवाले रिहा गरी धनकुटा पुर्याए । त्यही बेला उनलाई निःशस्त्र बनाइएको थियो ।

सिंहदरबार विद्रोह

रामप्रसादको जीवनीसम्बन्धी कृतिका लेखक जयका जय सिवाहाङका अनुसार उनी जेलमुक्त भएपछि २० जेठ २००८ मा काठमाडौं आए । ‘राजा त्रिभुवनले एक भेटमा पदको प्रलोभन देखाउँदा रामप्रसाद झन् आक्रोशित बनेको देखिन्छ,’ जय भन्नुहुन्छ । उहाँका अनुसार त्रिभुवनले नयाँ व्यवस्थाको कुरा नगरेपछि दिल्ली सम्झौताप्रति असन्तुष्ट रामप्रसाद झन् आक्रोशित बन्न पुगे । राजधानीका सार्वजनिक समारोहमा भाषण गर्न थाले । त्यही क्रममा उनलाई २००८ माघ ४ गते पक्राउ गरी सेन्ट्रल जेलमा राखिएको थियो।

“हाम्रो मुक्तिसेनाको जवानको उपेक्षा गरी हाम्रो मञ्जुरीबेगर हतियार खोसी राणाको खाली कुर्सीमा गद्दार नेता चढाउँछ । सरकारको तरिका बदली मुक्तिसेनाको सङ्गठन सम्बद्र्धन गरी हतियार दिँदैन भने हामीलाई सरकारले कमजोर नठानोस् । म एक दिनमै रगतको खोलो बगाई प्रजातन्त्रको स्थापना गर्नेछु,” भन्दै भाषण गरेर जननायक सहिद रामप्रसाद राई राष्ट्रिय महासभाको अफिसमा जानुभयो । त्यहिबेला उहाँलाई कालभैरव थानाका पुलिस इन्चार्ज बलदेव उपाध्याय (धादिङ)का कमान्डका रक्षा दलका जवानहरूले गिरफ्तार गरी केन्द्रीय कारागारमा कैद गरे । ’

जेलमा राखिए पनि रामप्रसादले आफ्नो पहरामा खटाइएका रक्षा दल (गोरखा दल अर्थात् खुकुरी दलले काण्ड मच्चाएपछि तत्कालीन गृहमन्त्री बीपी कोइरालाले मुक्तिसेनालाई काठमाडौं उपत्यकाको सुरक्षाको जिम्मेवारी दिई रक्षा दल बनाएका थिए) कै जवानलाई साथ लिई सिंहदरबार विद्रोह गराएको अध्ययनले देखाउँछ । जय सिवाहाङको खोजअनुसार केन्द्रीय कारागारमा भोजपुरेहरू नै ढोके, पाले र गार्ड कमान्डरहरू थिए । उनीहरूबाट मुक्तिसेनाको लेफ्टिनेन्ट मुगाधन राई र एकदेव आलेलगायत क्रमशः सेकन्ड बटालियन, फस्र्ट बटालियन र थर्ड बटालियनका कमान्डरहरूसँग रामप्रसाद राईले सम्पर्क बढाएका थिए । माघ ८ गते राति ९ बजे केन्द्रीय जेलका कोतबाट हतियार लिई सबै बन्दी रामप्रसादले आफूसँगै मुक्त गरे । केन्द्रीय जेल तथा सिंहदरबारका तीन बटालियनका २१०० मध्ये १२०० जवानले विद्रोहमा साथ दिए । केन्द्रीय जेलबाट गएर उनीहरूले सबैभन्दा पहिला सिंहदरबारको कोत फोरे । त्यसपछि ११ बजे विद्रोही रक्षा दलले तीन दिवारभित्रका केआई सिंहलाई मुक्त गरे । 

सात सालको क्रान्तिमा भैरहवा क्षेत्रको नेतृत्व गरेका डा. केआई सिंह पनि दिल्ली सम्झौताको विरोधमा गतिविधि चलाएपछि पक्राउ परेका थिए । डा. सिंह र खड्गबहादुर गुरुङलाई पाल्पाबाट हिँडाएर २००८ साल भदौ २६ गते सिंहदरबारमा बन्दी बनाइएको डा. भवेश्वर पंगेनीकृत डा. सिंहको जीवनीसम्बन्धी कृति डा. के. आई. सिंह र नेपालको राजनीतिमा उल्लेख छ । 

जयको खोजअनुसार रामप्रसादले सिंहलाई जेलबाट मुक्त गरेपछि विद्रोही सरकारका रूपमा प्रधानमन्त्री, रक्षामन्त्री, गृहमन्त्री र अर्थमन्त्री क्रमशः डा. केआई सिंह, रामप्रसाद, अग्निप्रसाद खरेल र चन्द्रखर शाक्यलाई तोकिएको थियो । 

‘सिंहदरबार विद्रोहलाई भारतीय सेना ल्याई दबाउने हल्ला चलेपछि एकदेव आलेले धादिङ, केआई सिंहले नुवाकोट र रामप्रसाद राईले रसुवा कब्जा गरी काठमाडौँ घेर्ने योजना बनाएको देखिन्छ,’ जय सुनाउनुहुन्छ, ‘तर, केआई सिंह तोकिएको आफ्नो क्षेत्रमा नगई रसुवातिरै गए । यसबाट पहिले विद्रोही पक्षका सिंह त्यस बेला आएर राज्य पक्षसंग मिलेर रामप्रसादलाई ठेगान लगाउने जिम्मा उनलाई दिएको स्पष्ट हुन्छ । सिंहदरबार कब्जाकै बेला पनि आफ्ना सेनालाई गोली नचलाउन आदेश दिएर सिंह शङ्कास्पद भूमिकामा देखिएका थिए । ’ 

मृत्य

रामप्रसाद राईको मृत्यू कसरी भयो ? भन्ने बारे आजसम्म रहस्य बनेको छ। चीनबाट फर्किएका डा. केआई सिंहले ‘रामप्रसाद राई हिउँमा कठांग्रिएर मरेको’दुनियाँलाई सुनाए पनि राज्य पक्षबाटै षड्यन्त्रमा पारी रामप्रसादको हत्या भएको परिवारजनको दाबी छ ।

यी दुई नेताबीच दरबार र राणाप्रतिको बुझाइमा मतभिन्नता बढेको स्पष्ट देखिन्छ । खोजअनुसार रसुवा जाँदा बाटोमा रामप्रसाद र सिंहबीच झगडा भएको थियो । उनीहरूका साथमा घूसपैठवाला सेना पनि थिए । अरू सीआईडीले पिछा पनि गरिरहेकै थिए । उनीहरू झुंगाको ओढारमा पुगेर बास बसेका थिए । मुक्तिसेनाहरू अन्यत्र बास बस्न पुगे । उही रात त्यहाँ गोली चलेको आवाज सुनिएको थियो । त्यसपछि नै रामप्रसाद गायव भए । ‘सिंहले आफूहरूले नियन्त्रणमा लिएका दुई जना घूसपैठवाला सेना भाग्दा गोली चलाउनुपरेको बताएका रहेछन्,’ रामप्रसादको जीवनीसम्बन्धी कृतिका लेखक जय निष्कर्ष सुनाउनुहुन्छ, ‘उनीहरू कसरी भाग्न सफल भए ? उनीहरूलाई भगाउने बहानामा त्यही रात रामप्रसादलाई मारिएको देखिन्छ । ’

राजा त्रिभुवनले दिल्ली सम्झौतापछि काठमाडौं फर्किंदा पाएको स्वागतजस्तै डा. सिंहलाई पनि चीनबाट फर्कंदा भव्य स्वागत गरेको देखिन्छ । सिंहलाई स्वदेश फर्काउँदाका किस्सा पनि अनेक रहेछन् । यसलाई रामप्रसादको ‘ठेगान’ लगाएकोमा डा. सिंहका लागि पुरस्कार भएको राम प्रसादको छोरी कृष्णकुमारी राईको तर्क छ ।

सन्दर्भ सामाग्री:

  • क्रान्तियोद्धा राईको रामकहानी- सचित राई (गोरखापत्र)
  • अनलाइन खबर