-भोला बिक्रम राई

प्रारम्भ

एसियाका ठूला देशहरू चीन र भारतको बीचको हिमालय काखमा रहेको नेपालको इतिहास यस क्षेत्रका अन्य देशहरूको भन्दा फरक र बिशिष्ट छ। नेपालदेखि दक्षिणपट्टि रहेका देशहरू विदेशी अधिनमा रहँदा पनि नेपाल स्वतन्त्र राष्ट्रको रूपमा रहिरह्यो । विभिन्न धर्मशास्त्र तथा पुराणहरूमा पनि नेपाललाई अत्यन्तै प्राचीन र पवित्र भूमिको रूपमा वर्णन गरिएको छ ।

काठमाडौं उपत्यकामा पाइएका नियोलि‍थि‍क उपकरणहरूबाट यो थाहा पाइन्‍छ कि नेपालमा मानिसको बसोबास कम्‍तिमा पनि ९ हजार वर्ष पहिलादेखि हुँदै आएको छ र किरात जातिका मानिसहरु करिब २५ सय बर्षअघि देखि यहाँ बसोबास गरेको अनुमान लगाइन्छ ।

प्राचीन नेपालको राजनैतिक ईतिहास हेर्दा किरात कालभन्दा अगाडि नेपालमा गोपाल, महिषपाल जस्ता अन्य जातिहरूको राज्य थियो भन्ने अपुष्ट इतिहासहरू भएपनि प्रष्ट प्रमाणको अभावमा किरातकाल सुरु हुनुभन्दा अगाडिको समयलाई प्रामाणिक इतिहासको रूपमा लिइँदैन। यसर्थ आजसम्म नेपालको प्रामाणिक प्राचीन इतिहासको सुरुवात किरात कालबाटै सुरु भएको हो भन्ने कुराको ऐतिहासिक मान्यता स्थापित भइसकेका छन्।

किरात काल

इतिहासकार इमानसिं चेम्जोङले किरात शब्दको उत्पत्ति भूमध्य सागरीय क्षेत्रको कोवाइट भाषाको किरियत भन्ने शब्दबाट भएको भन्ने उल्लेख गरेका छन्। यसको अर्थ किल्ला, शहर भन्ने हुन्छ भनेका छन्। जब उनीहरुको संख्या बढ्दै गयो। उनीहरुले धेरै किल्लाहरु र शहरहरु बनाए। र, त्यसलाई किरियात हिम भनियो। त्यही वंशलाई कालान्तरमा किराँती भन्न थालियो। र, किराँती वंश भयो।

चेम्जोङले ‘किरात साहित्यको इतिहास’ नामक पुस्तकमा सर जोन ह्यामल्टनले ‘एन्सियन्ट हिस्ट्री’ शीर्षक लेखमा प्राचीन बेबिलोन र मेसोपोटोमियाको सभ्यतासँग किरातहरुको सम्बन्ध थियो भन्ने कुरा पुष्टि गरेका छन्। यसबाट के अनुमान गर्न सकिन्छ भने मान्छेहरुले जंगलबाट निस्केर भूमध्यसागर क्षेत्रमा प्रथम बस्ती बसाले। त्यहाँ उनीहरुले प्राप्त गरेका अनुभवलाई सँगालेर प्रथम मानव सभ्यताको विकास गरेका थिए। त्यहीबाट नयाँ जमिनको खोजीमा निस्केका एक समूह यात्राको अनेकौं अनुभवहरु सँगालेर हिमालयको काखमा आइ बस्ती बसाले। जहाँ उनीहरुले आफ्नो अनुभवको आधारमा ‘किरात दर्शन’ विकाश गरे।

गोपाल वंशावलीमा तामाकोशी र सुनकोशी बीचको भूभागमा बस्ने किरातहरूले महिषपालहरूलाई जिती नेपाल खाल्डोमा आफ्नो राज्य कायम गरेको उल्लेख पाइन्छ । भाषावंशावलीमा “म्लेच्छ” जातिका किरातीहरू पूर्वबाट महाप्रतापसँग आई महिषपाल राजासँग युद्धमा जिती नेपालका राजा भया भनि उल्लेख गरेको र प्रथम किराती राजा यलम्वर भनी उल्लेख गरेका छन् । यी सबै आधारबाट महिषपाल वंशका अन्तिम राजा भुवनसिंहलाई पराजित गरी किरातहरूले आफ्नो राज्य स्थापना गरेको देखिन्छ । तर समयको भने कुनै श्रोतमा उल्लेख भएको पाईदैन । ईशापूर्व १२०० तिर किरातहरूबाट नेपाल खाल्डोमा आक्रमण गरिएको भन्ने अनुमान गरिएको छ ।
नेपालमा कति किरात राजाहरुले कति बर्षसम्म शासन गरेका थिए? भन्ने बारेमा मतक्यैता पाईदैन।

वंशावलीहरूमा सबैभन्दा पुरानो र विश्वासिलो मानिने गोपालराज वंशावलीले यलम्बर लगाएत ३२ जना किराती शासकहरूले १६६३ वर्ष ८ महिना शासन गरेको उल्लेख छ । राइट वंशावलीले २८ जनाले १११८ वर्ष र कर्कपेट्रीकले २७ जना शासकले १६३० वर्ष शासन गरेको लेखेकाछन् । के. पी. जयसवालले २८ जनाले ७०० वर्ष भनी उल्लेख गरेका छन् । भाषा वंशावलीले २८ जना, सिल्वाँ लेवीले २४ जना र इतिहास प्रकाशंमा २९ जनाले शासन गरेको देखाईएको छ। तर शासन अवधिका बारेमा भने यिनीहरूले खुलाएका छैनन् । यद्यपी अहिले सम्मको नेपालको राजनैतिक ईतिहासमा किरातीहरुले सर्वाधिक लामो समय सम्म नेपालमा शासन गरेको तथ्य देखिन्छ।

किरातकालीन शासन व्यवस्था

किरातकालीन शासन व्यवस्था तुलनात्मक रुपमा राम्रो थियो । शासनको स्वरुप राजतन्त्रात्मक भए पनि अड्डा अदालतहरु, कुथर, सुल्त्नी, लिगवन्त, मापचोकजस्ता राज्यसञ्चालनका सोपानहरुद्वारा शासनलाई विकेन्द्रित रुपमा व्यवस्था गरिएको थियो ।

किरातहरुले मुख्य कानूनी श्रोतका रुपमा मुन्धुमलाई मानेका थिए। ‘मुन्धुम’ किरात पुर्खाहरुको हजारौं वर्षको भोगाइ, सोचाइ र प्रकृतिमा आधारित मूल्य मान्यताहरुलाई मौखिकरुपमा भन्दै र सुन्दै आएको जीबन र जगतलाई बुझ्ने पद्दती हो। किराती शासकहरुले मुन्धुममा बर्णित पद्दतीहरुलाई पवित्र सम्झी अनुसरण गर्थे।

नेपालको परराष्ट्र सम्बन्धको सुरुवात सर्वप्रथम किरात कालमा प्रारम्भ भएको देखिन्छ । दक्षिणतिर मगध साम्राज्यसँग विम्वसार, र अजातशत्रुसँग राम्रो सम्बन्ध कायम गरेका थिए । व्यापार व्यवसायमा पनि मगधसँग नेपालमा निर्मित लत्ताकपडाको लोकप्रिय व्यापार सञ्चालन गरेको कुरा कौटिल्यको अर्थशास्त्रमा उल्लेख गरिएको छ । त्यसबेलाका वास्तुकला मूर्तीकला, गृहनिर्माण कला र आफूले गरेका मानवहितका कार्यको शिलालेख राख्नेसमेत चलन सुरुभयो र अद्यावधि ती यथावत छन् ।

लोककृष्ण भट्टराईको खोजमूलक पुस्तक ‘नेपाली सभ्यताः विगत र आगत’ मा उल्लेख गरिए अनुसार, किराती राजाहरु जनप्रिय थिए र गरिबका पक्षपाती थिए। जात, भाषा र धर्मका आधारमा मानिसमा विभेद गर्न हुँदैन भन्ने यिनीहरुको मूलमन्त्र थियो। गाउँमा जनताले चुनेको मानिसले प्रशासन चलाउन यिनले आफ्ना अवयवलाई अह्राएका थिए। गरिब तथा निरीह जनताले न्याय पाउनुपर्छ भन्ने किराती शासकहरुको मान्यता थियो।

किरातकालमै आधुनिक लोकतन्त्र वा मार्क्सले कल्पना गरेको समाजवादी समाज निर्माणको अभ्यास गरिसकिएको थियो। यसबारे नेपालको संक्षिप्त वृत्तान्तमा बाबुराम आचार्यले लेखेका छन्– ‘तत्कालीन अवस्थामा हालको भारतमा १६ जनपद राज्य थिए, तिनमा दासप्रथा र जातको छुवाछुत प्रथा पनि थियो। तर, हाम्रो नेपालमा भने त्यस्तो भेदभाव थिएन अर्थात् जातिभेद, वर्गभेद, वर्णभेद र लिंगभेद पनि नभएकाले किरातकालीन राज्य व्यवस्थामा पूर्ण लोकतन्त्र थियो। शासक जनताको नोकरको रूपमा थिए। राज्यका सबै जात, धर्म, वर्ण र लिंगका मानिसलाई नागरिक अधिकार थियो।’

यसरी किरात कालबाट नै नेपाल मौलिक आर्थिक, सामाजिक, धार्मिक जीवनमा पद्धतिसंगत हिसाबले अगाडि बढिसकेको थियो भन्न सकिन्छ। चौथो शताब्दीमा आचार्य कौटिल्यले नेपाल उन्नत सभ्यताशील राष्ट्र र उनको व्यापारिक कारोबार भएको त्यसबेलाको उन्नतशील राष्ट्र भनी लेखेबाट नै थाहा हुन्छ कि त्यसबेला दक्षिण एसिया, पूर्वी एसिया र बाँकी विश्वको तुलना गर्दा सभ्यताको विकास र निर्माण नेपालबाट नै सुरू भई विश्वभर फैलिएको हो।

प्रख्यात किराती राजाहरु

यलम्बर

किरात राज्यका संस्थापक यलम्बर ज्यादै वीर थिए । यिनले महिषपाल आभीर वंशका शासक भुवनसिंहलाई हराएर किरात राज्यव्यवस्था स्थापना गरेका थिए । यिनलाई कतैकतै यलुङ्ग पनि भनिएको छ । यिनकै नामबाट पाटन सहरको पुरानो नाम यल रहन गएको मानिन्छ। यिनी नेपालकै ठुलो र लामो शासन गर्ने राजा मध्य एक हुन्।

हुमति

यिनी छैठौँ किराती राजा थिए । यिनलाई गोपाल राजवंशावलीमा हँति भनेर उल्लेख गरिएको छ । डेनियल राइटले छपाएको वंशावलीले यिनलाई महाभारतको युद्धकालका भनी उल्लेख गरेको छ ।
राईट वंशावलीमा छैटौ किराती राजा हुमतीको समयमा अर्जुनको किरातेश्वरसँग युद्ध र वर प्राप्तीको कथा पाइन्छ ।

जितेदास्ती

किरात राजा जितेदास्ती अर्का उल्लेखनीय शासक हुन् । यिनलाई भाषा वंशावलीहरूले सातौं क्रममा राखेका छन् भने गोपाल राजवंशावलीले केही पछिल्लो क्रममा उल्लेख गरेको छ । राइट वंशावलीमा महाभारतको चर्चा गर्दै सातौं किराती राजा जितेदास्तीले महाभारतको युद्धमा भाग लिएको उल्लेख गर्दै उनको मृत्यू पनि सोही युद्धमा भएको चर्चा पाइन्छ । बौद्ध वंशावललीहरूमा सातौं किराती राजा जितेदास्तीको समयमा गौतम बुद्ध आफ्ना शिष्यहरुसंग नेपाल खाल्डोमा आएको र बुद्धले स्वयम्भु, गुहेश्वरी आदि स्थानमा प्रबचन दिएको बताइन्छ ।

स्थुंको

चौधौं किराती राजा स्थुङको रहेको थियो। केही वंशावलीमा यिनको शासनकालमा सम्राट अशोकको आगमन भएको उल्लेख पाइन्छ । उनीले नेपाल खाल्डोमा आई आफ्नी छोरी चारुमतीको विवाह यहीका क्षेत्रिय राजकुमार देवपालसँग गरी किरातहरूको राजधानी पाटन शहरका चारकुना र बीच भागमा एक एक स्तूप बनाउँन लगाएका थिए ।

जिन्ग्री

जिन्ग्री पन्ध्रौँ किराती राजा रहेको र जिन्ग्रीको पालामा महाबिर जैनले जैन धर्मको प्रचार गर्न नेपाल भ्रमण गरेका थिए भन्ने ईतिहासकारहरुको भनाई रहेको छ।

गस्ती

अन्तिम किराती राजा गस्तीको समयमा पश्चिमका सोमवंशी राजा निमिष टंकारले नेपाल खाल्डोमा आक्रमण गरी किरातहरूलाई पराजित गरे । यस पछि यो जाति क्रमसः पूर्वतर्फ लागेको अनुमान गर्न सकिन्छ ।