स्वप्नील स्मृति

नेपालका लिम्बू, याक्खा, राई र सुनुवार जातिले आफूलाई ‘किराँत’ भनी चिनाउँछन्। किराँत जाति, धर्म, सभ्यता, संस्कृति, नश्ल वा एउटै रक्तसमूह; के हो ? यही भनेर यकिन गर्न नसकिए पनि उनीहरूबीच पाइने समानता भनेको मुन्धुमी परम्परा हो। उनीहरू मुन्धुमलाई आफ्नो समाज सञ्चालनको मुख्य चालक बताउँछन्।

लिम्बू समाजमा एउटा आहान छ, ‘मुन्धुम मिलाऊँ, सबै मिल्छ।’ यसले एउटा सभ्य, सुमृद्ध र सुन्दर समाज निर्माणमा ‘मुन्धुम’को महत्वलाई दर्शाउँछ। त प्रश्न उठ्छ, त्यसो भए मुन्धुम के हो ?

किराँत भाषिक भेदअनुसार लिम्बू जातिले मुन्धुम, सुनुवारले मुग्दुम, याक्खाले मुन्तुम र राई जातिले सामान्यतया (वान्तावा, चाम्लिङ र लोहोरुङ) मुन्दुम भन्छन्। राईभित्रका अन्यभाषी जस्तै पुमाले मुत्दुम, याम्फुले मिन्दुम, कुलुङले रिद्दुम, दुमी, साम्पाङ, मेवाहाङले मुद्दुम भन्छन्। जे भए पनि यी शब्दको मूल चाहिँ भोट मूलको शब्द ‘मुन्थुम’ लाई मानिँदै आएको छ, जसको अर्थ ‘अन्धकारलाई पोको पार्नु वा अज्ञानतालाई हटाएर ज्ञानको उज्यालो ल्याउनु’ हो।

वैरागी काइँलाका अनुसार, लिम्बू भाषामा ‘मुन्’ को अर्थ गति वा गतिमय स्थिति हो भने ‘थुम्’को अर्थ कठिन वा शक्ति वा बल हो। राई बान्तवा भाषामा ‘मुन्दुम’को अर्थ मानिसको बोली हो भने चाम्लिङ भाषा ‘मुन्’ को अर्थ ‘रच्नु’, ‘उत्पन्न गर्नु’ ‘जन्मनु हुन्छ’ भने ‘दुम’को अर्थ ‘बोली’ अर्थात् मुन्दुम भनेको रचना गरिएको बोली (रिसिया) लाग्दो रहेछ।

यी शाब्दिक अर्थले स्पष्ट पार्छ– हजारौं वर्षअघि किराँत जातिले आफ्नो भाषाको विकाससँगै पुस्ता/दरपुस्ता हस्तान्तरण गर्दै आएको तŒव, ज्ञान र सौन्दर्य मीमांशाको कथ्य नै मुन्धुम हो जसमा जीवन र जगत्बीचको संघर्ष र सम्झौताको महाआख्यान अन्तर्निहित छ। मानव जीवनले आदिमकालदेखि आधुनिक सभ्यतासम्म गरेको यात्राको महावर्णन छ।

ज्ञानतŒव र सौन्दर्यको भण्डार मुन्धुमलाई दार्शनिक विचारहरूको संग्रह पनि मान्न सकिन्छ। यसमा प्राकृतिक तथा सामाजिक क्रियाकलापहरूको क्रमबद्ध, सुसंगत जानकारी पाइन्छ। विशुद्ध दार्शनिक दृष्टिले मुन्धुमलाई यही हो भनेर लेबल लगाउन भने सकिन्न। किनभने अध्यात्मवाद र भौतिकवाद दुवै दर्शनको योगले यो निर्मित छ। अध्यात्मवादले भनेजस्तो यसले पूर्णत ईश्वरवादी मत राख्दैन। बरु ईश्वर अर्थात् माङ (पुर्खा)हरूको आत्मालाई प्रकृति जगत्का विभिन्न गोचर वस्तुहरूमा प्रतीक आरोपण गर्छ। त्यसउपर न्यायोचित व्यवहारहरू जस्तै विभिन्न धार्मिक, सांस्कृतिक अनुष्ठानहरू गर्छ। आध्यात्मवादले भनेजस्तो भाग्य, ईश्वर, परात्मालाई परमसत्य पनि यसले मान्दैन। मृत्युपछिको परलोकका लागि कर्म गर्दैन। तर, शतत् सुन्दर जीवनका लागि सुखद–दुःखद् मृत्युवरण गरेका पुर्खाका आत्माहरूलाई वरण या त्याग गर्दै जीवनकर्मलाई नटुट राख्नमा जोड दिन्छ।

‘साम्जिक मुन्धुम’ले भौतिक अस्तित्वभन्दा पर अति–इन्द्रीय या आध्यात्मिकताको विवेचनालाई पनि मार्ग प्रशस्त गरेको छ जसभित्र मुजोःत्लुङ खाजोःत्लुङ मुन्धुम (ब्रम्हाण्ड विज्ञान) नावा चइःत् मुन्धुम अर्थात् सृष्टि मुन्धुम, तङसिङ मुन्धुम (मेलमिलाप, सुस्वास्थ्य, समृद्धिसम्बन्धी अनुष्ठान र विवेचना), साम्सोघा मुन्धुम (प्रेतात्मा शास्त्र), मिसाम् मुन्धुम (अग्नि शास्त्र) आदि पर्छन्।

लिम्बू साम्जिक मुन्धुमको ब्रम्हाण्ड उत्पत्ति मुन्धुम भौतिकवादसँग नजिक छ। यस मुन्धुमले भन्छ, सुरुमा मुहङलिङ खेहङलिङ थियो अथवा उँभो पनि भ्वाङ उँधो पनि भ्वाङ (महाशून्य) थियो। त्यही महाशून्यको बीचमा स्वयं विचार (स्वयम्भू) अर्थात् नदेखिने वायुबतासको देवता (माङ) आठ फन्को घुम्दै आफैंआफ प्रकट भयो। त्यसको भयंकर भुँमरीको टुप्पोबाट बालुवाका मसिना कणहरू निक्ले। त्यो कणले मूलभुँमरीको हावासँग झगडा गर्न थाल्यो। त्यति नै खेर आगोको ठूलो ज्वाला पैदा भयो। जसले आँधीलाई दुई चिरा पार्‍यो। त्यस चिराबाट धागोको पोयाजस्तो एउटा सानो बालक खिजोरा मेन्जोरा देव पैदा भयो। त्यसलाई लिम्बू मुन्धुममा ‘तागेरा निङ्वा ? भु माङ’ भनिन्छ।

यिनै तागेरा निङ्वा ? भुमाङले मानिसरूपी पोरोःक्मी यम्भामी देव (माङ)को सृष्टि गरी यस ब्रम्हाण्डको सृष्टि गरे। ‘इक्सादिङ खाम्बेःक्’ अर्थात् घुमिरहने पृथ्वी निर्माण गरे। आकाश, घामजून, तारा, धर्ती, खोलानाला, चराचुरुंगी, कीटपतंग, समुद्र, खोलानाला र जलचर, वनजंगल फूल, पुतली सारा सृष्टि गर्दा पनि संसार सुहाएन। जब समुद्रको लेऊ, अग्निको खरानीबाट लाइक्कुम् फेम्बोसा (लोग्ने) तुङ्गुलिमा सिम्बोसा (स्त्री) मानिस बनाए तब मात्र संसार सुहायो, सुन्दर देखियो।

किराँत राईको मुन्धुममा जलमग्न संसारमा पानीमा फिँज, फिँजबाट ढुंगा, ढुंगाको चेपमा उन्यु, उन्युको पात झरेर धमिरा, धमिराबाट माटोको ढिस्का, माटोको ढिस्कामा निबु च्याउ, निबु च्याउबाट खुम्लेकीरा र त्यही खुम्लेकीराबाट रिभ्याँमा र रिकपानामक स्त्री पुरुषको उत्पत्ति भएको वर्णन छ।

मुन्धुमको मूल मर्म मानव जीवनलाई सुन्दर बनाउनु वा समाजलाई सही मार्गदर्शन गर्नु नै हो। यसैअनुसार विभिन्न मुन्धुमको उत्पत्ति र विकास हुँदै आयो होला। लिम्बू मुन्धुमअनुसार थिम्जिक मुन्धुमले प्रकृति र मानवसमाजका भलाइका लागि अपनाउनुपर्ने विभिन्न नीतिशास्त्र/आचार शास्त्रहरू बताउँछ। ताःजिक मुन्धुम तर्क शास्त्र हो भने नुवेःन्दिङ मुन्धुमले सौन्दर्यशास्त्रको कुरा गर्छ। सिक्कुम मुन्धुमले ज्ञान मीमांशाको कुरा गर्छ भने शशि मुन्धुम मौखिक इतिहास हो। नाहेन मुन्धुमले ईश्र्याद्वेषको उत्पत्तिबारे वर्णन गर्छ। किराँत राई, याक्खा र सुनुवार जातिमा पनि यस्तै प्रकारका अनेक मुन्धुमहरू हुन सक्छन्।

मुन्धुमलाई थोरै मात्र पर्गेल्ने हो भने मानव सभ्यताका जति चरणहरू छन्, ढुंगेयुग, घुमन्ते युग, सिकारी युग, कृषि युगदेखि आजसम्मकै जीवन र जगत्का चिन्तनाहरू संग्रृहीत छन्। यसभित्र प्रकृति प्रलय, प्राकृतिक प्रकोप, मानवीय सफल/असफल संघर्ष, यत्नप्रयत्न, विभिन्न रोगव्याधी, तिनका निवारण प्रयास, त्यसले जन्माएका लोकविश्वास/अन्धविश्वासको लयेदार वर्णन हुन्छ। ती वर्णनले मानिस जातिले वर्तमानमा गर्नु परेका सामाजिक/धार्मिक, सांस्कृतिक कर्म र अनुष्ठानको ऐतिहासिक तथा वैज्ञानिक आधार प्रदान गर्छन्। सर्वप्रथम खेती गर्ने, घर बनाउने, विवाह गर्ने, भीरबाट लडी मर्ने, सुत्केरीमा मर्ने, आँखी, ईष्र्या, डाही गर्ने पुर्खा को थियो ? उसले त्यसको प्रतिफल के भोग्यो ?        खेती गर्नका लागि मानिसले बीउ कहाँबाट प्राप्त गर्‍यो ? कसरी समाज निर्माण भयो ? ती मिथक र प्रागऐतिहासिक कालीन स्मृति सन्दर्भहरूले वर्तमान जीवन र जगत्प्रति नवीन चेतनाको लागि उत्प्रेरित गराउँछ। कसरी समाज निर्माण भयो ? धर्म के हो ? गर्न हुने के गर्न नहुने के ? लोकाचार, सदाचार के हो ? गीतसंगीत, साहित्य, खेलकुद, पोसाक आदि तमाम विषयहरूलाई मुन्धुमले निर्दिष्ट गरेको पाइन्छ।

मुन्धुम अनुसन्धान्ता भोगीराज चाम्लिङ भन्छन्, ‘समग्रमा मुन्दुम किराँतीहरूको सृष्टि, प्रकृति, मानव, समाज विकास, इतिहास, संस्कृति आदिसम्बन्धी दार्शनिक दृष्टिकोणको समुच्चय हो।’ सुदूर अतीतदेखि वर्तमानसम्म जीवन र जगत्लाई एक कडीको रूपमा मुन्धुमले जोड्दै ल्याएकै छ। जस्तै किराँत राई वान्तावाहरूको ‘रिदुम मुन्दुम (ज्ञानदर्शन)ले भन्दो रहेछ, ‘हेन्खामा मात्दुङलो हाङ्छामुलुा छाङ मात्दुङ अर्थात् पृथ्वी छैन त मानव जाति पनि छैन।’ लिम्बू मुन्धुमले भन्छ– जीवन त ऋतुभरिको फूलजस्तै हो। यामभरिको डाँडामाथिको हिउँ जस्तै हो। जीवन क्षणभंगुर छ। अमर त मृत्यु नै हो। त्यसैले बाँचुन्जेल रिस, राग, ईष्या, घमण्ड नगरी, कसैको मन नदुखाइ सहअस्तित्वमा स–सम्मान बाँचौं। यसले मुन्धुमभित्र निहित प्राकृतिक भौतिकवादी दार्शनिक सारलाई उजिल्याउँछ तर फेरि मुन्धुम यतिमै मात्र सीमित पनि छैन।

लिम्बू समाजमा एउटा आहान छ, ‘मुन्धुम मिलाऊँ, सबै मिल्छ।’ यसले एउटा सभ्य, सुमृद्ध र सुन्दर समाज निर्माणमा ‘मुन्धुम’को महत्वलाई दर्शाउँछ। प्रश्न उठ्छ, त्यसो भए मुन्धुम के हो ?

मुन्धुम वाचन कवितात्मक हुन्छ। गेयात्मक हुन्छ। लयात्मक हुन्छ। मुन्धुमसाबा वा जान्ने बुझ्नेले यसलाई लोककथाका रूपमा सुनाउँदै आएका हुन्छन्, थप्दै सिर्जनातात्मक पनि बनाउँदै लगेका हुन्छन् भने किराँती पुरोहित जस्तै लिम्बूको फेदाङ्बा/साम्बा, येबा, राईको नछुङ याक्खाको माङ्बा र सुनुवारको फुम्बु आदिले विशेष धार्मिक पूजा, सामाजिक कर्मकाण्ड, सांस्कृतिक अनुष्ठान र धार्मिक पूजामा यसको शास्त्रीय पक्षलाई गाउँदै/बचाउँदै ल्याएका हुन्छन्। उनीहरू दैवी शक्तिले युक्त हुन्छन् पनि भनिन्छ। मृतात्मा/प्रेतात्मा र जिउँदो आत्मा बस्ने लोकका मध्यस्थकर्ताका रूपमा नै उनीहरूलाई समाजले मानी आएको त हुन्छ तर ती लोक अन्य धर्मले भनेजस्तो स्वर्ग, नर्क या मत्र्य लोक भनेरै स्पष्ट त छैन। जिउँदो आत्मा र मृतात्मा बस्ने लोकलाई फगत् उन्युको पातले छुट्याएको मात्र पनि हुन सक्छ।

मूलभूत रूपमा मुन्धुमको दार्शनिक सार समान भए पनि राई, लिम्बू, याक्खा र सुनुवार जातिबीच प्रकृति र पितृहरूको पूजा अनुष्ठानका रूप र कर्मकाण्डका आ–आफ्नै मौलिकता भने हुन्छन्। बसाइँसराइ, भिन्न–भिन्न भौगोलिक सहचार्यमात्र नभएर यस्का कारक ऐतिहासिक राजनीतिक पक्षहरूसमेत छन्। इतिहासकार इमानसिंह चेम्जोङका अनुसार, यस हिमालय भू–खण्डका पहाडी इलाकामा आफूलाई किराँत भन्नेहरूको प्रवेश उत्तरपश्चिम, पूर्व र उत्तरतिरबाट भिन्नभिन्न समयमा भएको हो जसले यो कालखण्डमा एक भएको तर मुन्धुमलाई मान्ने सम्मिश्रित समुदाय भएको पुष्टि गर्छ। त्यसो त तिब्बतमा प्राचीनकालदेखि प्रचलित बोन धर्मसँग मुन्धुम मिल्ने भएकाले कतिपय लिम्बू विद्वानहरूले मुन्धुमलाई प्राचीन बोनमार्गी मतका रूपमा समेत लिने गरेको पाइन्छ। प्रकृतिका आकाश, घाम, जून, बिजुली चम्केको चट्याङ, पशुपंक्षी, विरुवा, वनस्पति आदि सबैमा आत्मा हुने विश्वास र तिनको अनुष्ठान परम्परासँगै अन्य थुप्रै कुरामा मुन्धुम र बोनधर्मको समानता रहेको अनुसन्धाता विक्रम सुब्बा उल्लेख गर्छन्।

मुन्धुम भन्नु नै युमा धर्म हो भन्ने मत पनि छ। भारत सिक्किमका लिम्बूहरू आफूलाई युमामार्गीका रूपमा उल्लेख गर्छन्। प्राग इतिहासमा लिम्बूवानमा माबोहाङ नामक युमाभक्त राजाले ताप्लेजुङ केन्द्र बनाएर युमा धर्म स्थापना गरेर लिम्बूमा व्यापक प्रचार र प्रभाव पारेको पनि उल्लेख छ। यसबाहेक मुन्धुममा हिन्दू, बौद्ध र क्रिश्चियन धर्मदर्शनको प्रभावहरू पनि उत्तिकै पाइन्छ। यो ग्रहणशीलता, परिवर्तनशीलता र रूपान्तरणशीलताले मुन्धुममा थोरबहुत फरक भने पर्दै गएको छ।

श्रुति, स्मृति र मौखिक परम्परामा धानिएको मुन्धुम कहिलेदेखि निर्माण सुरु भयो त ? यो प्रश्नको सजिलो उत्तर त मुन्धुमैअनुसार ‘ए ! उन्छोःन् उन्छोःन्…’ अर्थात् ए…उहिले उहिले… हो। किनभने यसबारे पर्याप्त अनुसन्धान हुन बाँकी नै छ। केही अनुसन्धाताले साम्जिक मुन्धुममा प्रयुक्त शब्दावलीका आधारमा यसको निर्माण समय र स्थानबारे केही तथ्यहरू अगाडि सारेका छन्। जस्तै लिम्बू मुन्धुममा ‘लिम्बू’ ‘किराँत’ शब्दको ठाउँमा ‘नाम्याप्मी सा ला याप्मी सा’ (घामको सन्तान, जूनको सन्तान), ‘खाम्बोःङ्बा लुम्बोःङ्बा’ (ढुंगामाटोका सन्तान) ‘सावा येत्हाङ सा’ (आठ राजाको सन्तान) जस्ता शब्दावली प्रचलनमा आउँछ। ‘लिम्बू’, ‘किराँत’, ‘सुनुवार’ ‘राई’, ‘याक्खा’ आदि शब्दहरू मुन्धुममा प्रयोग नआउनुले मुन्धुम हजारौं वर्षअघि निर्माण भएको तर्कहरू पनि छन्। अनुसन्धाता नन्द कन्दङ्वाले ऋग्वेद र महाभारतमा उल्लेख किराँतहरूका प्रसंगलाई अघि सार्दै किराँत शब्द प्रचलनमा आउनअघि नै ईशापूर्व एक/दुई शताब्दीदेखि ईशापूर्व १४/१५ शताब्दीको अवधिमा मुन्धुमको निर्माण भएको हुन सक्ने अनुमान लगाउँछन्।

त्यसैगरी एउटा भाषाको विकासले हजारौं वर्ष लाउने सिद्धान्तका आधारमा मुन्धुममा प्रयुक्त शास्त्रीय भाषाका कारण यसको निर्माण ढुंगे युगमै सुरु भएको तर्क पनि छ। लिम्बू मुन्धुममा सावा येत्हाङका सन्तानहरू सुन, चाँदी, तामा र फलामबारे जानकार रहेको तथा जलप्रलयको प्रसंगसमेत आउँछ। जलप्रलयमा सोधुङ्गेन लेप्मुहाङनामक महापुरुषले नौकामा राखेर केही जीव, प्राणी र आफ्नो वंश मानव समूहलाई राखी बचाएको वर्णन छ। त्यो जलप्रलयको प्रसंग कसरी मुन्धुममा आयो ? जबकि वैज्ञानिकहरूले मध्य एसियामा दस हजार वर्षयता ठूलै हलचल ल्याउने कुनै प्रलय नआएको बताउँछन्। यस कारणले पनि मुन्धुम धेरैअघि नै निर्माण भएकोतिर संकेतिन्छ।

मुन्धुम लोक साहित्य हो। मानव सभ्यताको प्रारम्भिक कालदेखि आधुनिक युगसम्म किराँत पुर्खाहरूले प्रकृति विचरण गर्दाका संघर्षपूर्ण आख्यान यसमा छ। पुस्ता/दरपुस्ता विभिन्न अनुष्ठानमा सुन्दै, गाइँदै/नाचिँदै आइएकोले यसको भाषा ज्यादै उच्च कोटीको पनि छ। यसभित्र मिथकका रूपमा कयौं पात्रहरू छन्। प्रवृत्तिहरू छन्। स–साना नै सही, कयौं रोमाञ्चपूर्ण घटनाहरू छन् जुन जीवन दर्शनले भरिपूर्ण छ। किराँत जाति र जीवनलाई भव्यत्तम् अर्थ दिने कयौं विम्ब र प्रतीकहरू छन्। जुन अन्य धर्म, दर्शन र सभ्यतामा प्रयुक्त हुने पाठभन्दा बिल्कुलै मौलिक छन्। मुन्धुम आफ्नै छन्दमा अविरल प्रवाहमा छ। मुन्धुम गायनमा यसका विभिन्न चरणअनुसार छन्दमा पनि परिवर्तन हुँदै जान्छ। लिम्बू मुन्धुममा मात्र पुगनपुग एक दर्जन छन्दहरू जस्तैः माङ्घ, मुन्धुम, नावाप्मा, खाहुन्, केसाम्, पालाम्, ख्याली, हाक्पारे, हाम्लक्वा, ताम्के, पाङसाम्लो र नालिङ्गेत लारिङ्गेत आदि प्रयोगमा रहेको पाइन्छ जसको छुट्टै चर्चा गर्नुपर्ने हुन्छ। मुन्धुमलाई यसभित्र प्रयुक्त साहित्य मूल्य, कथानक, सौन्दर्यशास्त्र या विषयवस्तु कुनै पनि आधारमा विश्वमै एक उच्च कोटीको काव्यका रूपमा उभ्याउन सकिन्छ।

मुन्धुम वर्णित चरित्रहरू आदर्शवादी होइन यथार्थवादी, जीवनवादी हुन्छन्। कुनै एक आदर्श नायकनायिकामा कथा केन्द्रित नभएर यसमा वास्तविक घटना र विषयवस्तुमा केन्द्रित हुन्छन्। त्यही भएर मुन्धुम एउटै भए पनि ठाउँ, जातिअनुसार त्यसका पात्रहरू फरकफरक हुन सक्छन्। जस्तै तान बुन्ने मुन्धुममा लिम्बू जातिमा युमा आउँछिन् भने राई जातिमा तायामाखियामा दुई दिदीबहिनी पात्र आइरहेका हुन्छन्। उता सुनुवार या याक्खामा कुनै बूढी बोज्यु आइरहेका हुन सक्छन्। यसरी पात्रप्रधान होइन विषयप्रधान हुन्छ मुन्धुम।

आफूलाई किराँत मान्ने यी समुदाय अझै पनि आन्तरिक रूपमा मातृप्रधान नै छन्। त्यसैले महिला र पुरुष भएका मुन्धुमी कथामा पुरुष र महिला समानान्तर भूमिकामा अगाडि बढिरहेका हुन्छन्। अझ कतिपय मुन्धुममा त महिला पात्र नै शक्तिशाली र निर्णायक भूमिकामा पनि हुन्छन्।

मुन्धुम र अन्य सौन्दर्यशास्त्रबीच स्पष्ट अन्तर पाउन सकिन्छ। जस्तै भरतको नाट्यशास्त्रले नायकनायिकाको बाह्य र आन्तरिक लक्षण, स्वभाव, शक्तिका आधारमा चार थरी आदर्श नायक (धीरोद्वत, धीरललित, धीरोदात्त, धीर प्रशान्तर) र चार थरी नायिका (दिव्या, नृपपत्नी, कुलस्त्री र गणिका आदि) वर्ग विभाजन गरेको छ। तर, मुन्धुमले बाह्य (भौतिक) भन्दा आन्तरिक सुन्दरता, आत्मिक पवित्रता, निस्वार्थता, निश्छलतालाई जोड दिुन्छ। महाभारत, रामायणजस्ता ग्रन्थमा एक पक्षलाई अर्को पक्षलाई पूरै निषेध गर्न खोज्दा ठूल्ठूला युद्धहरू हारजितमा टुंगिन्छन्। तर स–साना युद्धहरू नै सही, मुन्धुमले सहअस्तित्व र आत्मसम्मानलाई सधैं केन्द्रमा राखेको पाइन्छ। जस्तो लिम्बू साम्सोघा मुन्धुममा पुरोहित येबा र प्रेतात्मा गिद्धबीच युद्ध हुन्छ। येबाले गिद्धरूपी प्रेतात्मालाई आफ्नो लोकबाट लखेट्न खोज्छ, मार्न खोज्छ तर सक्दैन, अन्त्यमा प्रेतात्माले नै येबालाई सम्झौता गराउँछ, कि ‘मलाई नमार, मलाई मार्‍यौ भने तिमी हुनुको पनि अर्थ रहँदैन।’ त्यसैले येबाले प्रेतात्मालाई मार्न होइन बाटोमात्र छेक्न सक्छ। यो त एउटा उदाहरण मात्र हो। –अन्नपूर्ण पोष्टबाट।