-कमल फुँयाल

किँरात जातीहरुको विशेष नाच साकेल निकै चर्चित नाच हो । साकेला नाच विशेष गरेर पूर्वी नेपालका विभिन्न भागमा नाच्ने गरिन्छ । साकेला पर्व र साकेला नाचको सुरुवातका बिषयमा बिभिन्न ठाउँमा फरक–फरक मिथक तथा भनाइहरु पाइन्छन् । यसको सुरुवातका बिषयमा किरात समुदायमा आ–आफ्नै तर्क र भनाइहरु छन् । किरात समुदायको आदिम पुर्खा खोक्चिलिपु, तायामा र खियामाले यसको सुरुवात गरेको किंवदन्तीमा सबै एक मत छन् । सरल भाषामा भन्नुपर्दा बैशाख शुक्ल पूर्णीमा र मंसिर शुक्ल पूर्णीमालाई साकेला पर्वका रुपमा लिइन्छ र साकेला नाच प्रस्तुत गर्ने गरिन्छ ।

साकेला पर्व अन्नबाली छर्ने बेला अर्थात बैसाख पूर्णीमा र अन्नबाली उठाउने याम मंसिर पूर्णीमामा दुई पटक महिना दिनसम्म मनाईन्छ । यसलाई स्थानीय भाषामा उधौली र उभौली पनि भन्ने गर्दछन । उधौली र उभौलीको अर्थ भने फरक तरिकाले लगाएको पाइन्छ । चराचुरुङगी बेंसीबाट लेकतिर जाने गर्मी याममा उभौली तथा लेकबाट बेंसीतिर झर्ने जाडो याममा उद्यौली पर्व मान्ने गरिएको छ ।

जसका कारण बैशाख महिना गर्मी भएकाले चराचुरुङगीहरु लेक तर्फ जान्छन। यस वेलाको बैशाखे पूर्णिमालाई उभौली भनिन्छ । त्यसैगरी मंसिरमा जाडो हुने भएकाले लेकमा ठण्डा बढने र चराचुरुङगी तराइ तिर झर्ने भएकाले उधौली भनिन्छ । यी दुई पूर्णीमालाइ किराँतहरुले साकेला पूर्णीमा भन्ने गर्दछन । बर्षमा दुइ पटक उधौली र उभौलीमा साकेला नाच प्रस्तुत गरिन्छ ।

साकेन्वा, साकेवा, साकला लागायतका नामबाट चिनिने साकेलाको अवशरमा नाचिने साकेला नाचमा मानवको जन्मदेखि मृत्युसम्मका र हरेक पशुपंक्षीको कृयाकलापलाई चित्रण गर्दै नाच्ने परम्परा रहिआएको छ । विशेष गरेर यो नाच पूर्वी नेपालकोे खोटाङ, भोजपुर, धनकुटा, उदयपुर, ओखलढुंगा, सोलुखुम्बु, संखुवासभा, सुनसरी, ईलाम, पाँचथर, झापा, मोरङ, काठमाडौं लगायत किरात समुदायको बसोबास रहेको ठाउँमा नाच्ने गरिन्छ । अहिले किरात बसोबास रहेको प्रत्येक गाउँमा युवा युवती, केटाकेटी, बुढापाकाको जमघट तथा साकेला गीत र नाचेर रमाइलो गर्ने गर्दछन ।

Kirats in traditional attire performing Sakela dance during the Udhauli Festival in Bhojpur district, on Monday, December 4, 2017. Photo: RSS

बिभिन्न जातजातीको मिश्रित बसोबास रहेको ठाउँका गैर–किरातीले समेत जातीय सद्भाब र साँस्कृतिक सहअस्तित्वकारुपमा साकेला नाच्ने गरेका छन् । कसरी नाचिन्छ साकेला नाच साकेला पर्वको अवसरमा परम्परागत भेषभूषामा सजिएका दाजुभाई, दिदिबहिनी, बुवाआमा, इष्टमित्र भेला भएर गोलो घेरामा ढोल र झ्याम्टा बजाउँदै साकेला नाच्ने प्रचलन छ । साकेला थानमा पितृभूमीको पूजाआजा गरेपछि साकेला गीतको भाकामा हात र खुट्टाले भाका टिप्दै साकेला सिली नाचिन्छ ।

किन नाच्ने गरिन्छ साकेला नाच साकेला पर्व मनाउनु र साकेला नाच नाच्नुको छुट्टै विशेषता रहिआएको छ । किरात राई, लिम्बू, याक्खा र सुनुवार समुदायमा ‘अन्नबाली सप्रियोस, रोगव्याधी नलागोस, प्राकृतिक विपत्ति आइनलागोस, सुव्यफाव्य होस’ भन्ने कामनामा भूमी, पितृ र अन्नको पूजाआजा गरी साकेला पर्व मनाउने चलन रहिआएको छ ।