फागुन २८, २०७५- बेलायती सेनामा तेस्रो गोर्खा बटालियन स्थापना हुने भएको छ । अहिले पहिलो गोर्खा बटालियन र दोश्रो गोर्खा बटालियनको रुपमा गोर्खालीहरु बेलायती सेनामा कार्यरत छन्। बेलायती रक्षा मन्त्रालयका अनुसार सन् २०१९ बाट भर्ती सुरु गरी निर्माण गरिने बटालियन विशेष इन्फेन्ट्री हुनेछ । 

बेलायतले २०१५ मा प्रकाशित गरेको रक्षा पुनरावलोकन प्रतिवेदनले ५ वटासम्म विशेष बटालियन बनाउन दिएको सुझावअनुसार नयाँ बटालियन स्थापना गर्न लागिएको हो । गत वर्ष नेशनल अडिट अफिसले करिब ८ हजार २ सय सैनिक नपुग भएको प्रतिवेदन पेस गरेको थियो । 

‘शताब्दीदेखिको लामो सेवा र बलिदानबाट आफ्नो सीप र बहादुरीका लागि गोर्खा सैनिकले अरु कसैले हासिल गर्न नसकेको इज्जत कमाएका छन्’, बेलायती रक्षा राज्यमन्त्री मार्क ल्यान्कास्टरले नयाँ बटालियन स्थापनाको घोषणा गर्दै विज्ञप्तिमा भनेका छन्, ‘गोर्खाहरुको दक्षता र बेलायतप्रति उनीहरुको दृष्टिकोणका कारण विशिष्ट तेस्रो बटालियन बनाउन उनीहरु नै आदर्श ठहरिएका हुन् ।’

रोयल गोर्खा राइफल्स कर्णेल मेजर जेनेरल गेज स्टि्रकल्यान्डले भने, ‘तेस्रो बटालियन खडा गर्न सेनालाई सहयोग गर्न पाएकोमा रोयल गोर्खा राइफल्स् निकै खुसी छ । विशेष इन्फेन्ट्रीको भूमिका उत्साहप्रद र चुनौतिपूर्ण हुनेछ । यो जिम्मेवारी बहन गर्न सेनाले हामीलाई विश्वास गरेकामा हामी निकै गौरवान्वित छौं ।’

नयाँ युनिटले गोर्खाहरुलाई करिअरमा थप अवसरको पहुँच, पदोन्नतिसहित ‘ब्रिगेड अफ गोर्खाज’ मा २४ वर्ष आर्मी सेवा गर्न मौका मिल्ने विश्वास गरिएको छ । गोर्खाहरु विगत २ सय वर्षभन्दा बढी समयदेखि बेलायती सेनामा अभिन्न अंग बन्दै आएका छन् । 

२०१९ इन्टेकका लागि गत महिना नेपालबाट करिब ४ सय युवा छानिइसकेका छन् । यस अलावा बेलायतले ‘ब्रिगेड अफ गोर्खाज’ मा पहिलोपटक नेपाली महिला पनि सामेल हुन सक्ने गरी बाटो खोलिदिएको छ । सन् २०२० को वसन्त ऋतुसम्म नेपाली महिलालाई बेलायती सेनामा अवसर प्रदान गरिने यसअघि नै घोषणा भइसकेको छ ।