चैत १४, २०७५- नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रवक्ता नारायणकाजी श्रेष्ठले किरात प्राचीन सभ्यता र केन्द्रीय रुपमा शासन गरेको इतिहास भएको कारण १ नम्बर प्रदेशको नाम किरात राख्न छलफल भइरहेको बताएका छन् ।

किरात राई समुदायको साझा संस्था किरात राई यायोक्खाले मंगलबारमा प्रवक्ता श्रेष्ठलाई बुझाएकाे ज्ञापन पत्र बुझ्दै श्रेष्ठले किरात शब्द केन्द्रीय रुपमा शासन गरेको इतिहासको रुपमा स्थापित भएको, सभ्यता र संस्कृति भएकाले नाम किरात राख्ने बारेमा पार्टीमा छलफल चलेको बताएकाे हाे । 

नेकपाको केन्द्रीय सचिवालय बैठकमा १ नम्बर प्रदेशको नाम किरात राख्न प्रचण्डले प्रस्ताव राखेको र छलफल चलिरहेको श्रेष्ठले बताए । किरात शब्दले राष्ट्रिय मान्यता पाएको उल्लेख गर्दै आफूहरु किरात नाम राख्ने कुरामा सकारात्मक रुपमा रहेको बताए । 

प्रचण्ड अमेरिकाबाट आएपछि पुःन प्रधानमन्त्री ओलीसँग छलफलहुने प्रवक्ता श्रेष्ठले बताएको यायोक्खा केन्द्रीय महासचिव जनक राईले बताए । ज्ञापन पत्र बुझाएपछि यायोक्खा अध्यक्ष दिवस राईले किरात प्रदेश नामकरणको अभियान बारे जानकारी गराएका थिए । प्रदेशको नामकरणको सन्दर्भमा पार्टीको नेता तथा सांसदहरुसँग छलफल निरन्तर चलिरहेको अध्यक्ष राईले बताए । 

फागुन १५ गते प्रदेशको मुख्यमन्त्री शेरधन राई, सभामुख प्रदीपकुमार भण्डारी लगायतलाई स्मरण पत्र बुझाउने कार्यक्रम राखिएको यायोक्खाले जनाएको छ । साझा नामको लागि लिम्बू, याक्खा, सुनुवार, मगर, गुरुङ, धिमाल, मेचे, कोचे, राजवंंशी, लाप्चा, माझी, भुजेल लगायतका जातीय सस्थाहरुसँग समन्वय भइरहेको यायोक्खा केन्द्रीय सचिव अर्जुन जम्नेली राईले बताए । –नयाँपेज डट कमबाट।