चैत २३, २०७५- नेकपाका स्थायीय समिति सदस्य योगेश भट्टराईले प्रदेश नं १ को नाम किरात राख्ने विषयमा आफ्नाे पार्टी र आफ्नाे नकारात्मक धारणा नभएको प्रष्ट पारेका छन् ।

बुधबार किरात राई यायोक्खा अध्यक्ष दिवस राई नेतृत्वको टोलीले प्रदेश नं १ लाई किरात प्रदेश नामाकरण गर्न पहल गरिदिन माग गर्दै काठमाडौं बागबजारस्थित भट्टराईको सम्पर्क कार्यालय पुगेर ज्ञापनपत्र बुझाएपछि भट्टराईले सो कुरा बताएका हुन् ।

उनले प्रदेशको नाम र राजधानी प्रदेश सभाले नै टुंगो लगाउने संवैधानिक व्यवस्था भएकोले पार्टीले औपचारिक रुपमा नबोल्ने तर आन्तरिक रुपमा छलफल भने गरिने बताए ।

‘पार्टीले औपचारिक रुपमा बोल्न मिल्दैन तर आन्तरिक रुपमा पार्टीमा छलफल हुन्छ,’ उनले भने, ‘नेपालमा सबभन्दा लामो समय शासन गरेर एउटा सभ्यताको रुपमा विकास भएको सन्दर्भमा किरातप्रति हाम्रो पार्टीको पनि कुनै नकारात्मक धारणा हुने छैन र व्यक्तिगत हिसाबले मलाई पनि यसमा ठुलो आपत्ति गर्नुपर्ने केही छैन ।’

उनले नेपालमा १८०० वर्षभन्दा बढी शासन गरेर किरात एउटा सभ्यता र इतिहास बनेको बताए ।

उनले प्रदेश नं १ को मात्रै नभएर नामाकरण हुन बाँकी कुनै पनि प्रदेशको नाम सम्बन्धित प्रदेशसभाले टुंग्यायोस् भन्ने आफूहरुको चाहना भएको बताए ।

नेकपाका प्रभावशाली युवा नेता मानिने भट्टराईले वर्तमान संविधानले संघ, प्रदेश र स्थानीय तहलाई स्वायत्त र अधिकारसम्पन्न बनाएकोले संघीय सरकारले प्रदेश वा स्थानीय तहमाथि हस्तक्षेप गर्न नसक्ने प्रष्ट पारे ।

भट्टराईलाई भेट्न यायोक्खा अध्यक्ष दिवस राईसहित उपाध्यक्ष, जीवन हाताचो राई, टिकासरि राई, कार्यबाहक महासचिव भिम राई, केन्द्रीय सदस्य किवाङ हाङ राई, देवान राई, महेन्द्र राई, परशुराम राई लगायत नेताहरु बागबजार पुगेका थिए ।

कार्यबाहक महासचिव राईले ज्ञापन–पत्र वाचन गरेका थिए भने अध्यक्ष राईले यायोक्खाले किरात प्रदेशका लागि चलाउँदै आएको अभियानको विस्तार गरेका थिए । –सार्वजनिक डट कमबाट।