राष्ट्रिय गान “सयौं थुंगा फूलका हामी” का रचनाकार प्रदीपकुमार राई/व्याकुल माइलाको जन्म २०२९ साल चैतमा थाक्ले-८ हिलेपानी, ओखलढुंगामा भएको हो। आमा धनलक्ष्मी र बुबा मानबहादुरका छोरा प्रदीपका एक दाजु, एक दिदी र एक भाइ छन्। उनको मातृभाषा वाम्बुले राई हो। 

खोटाङकी नानुकला राईसँग विवाह बन्धनमा बाधिँएका राई कानुनशास्त्र स्नातक तथा जनप्रशासनमा एमपीए हुन्। कानुनी सेवा (अधिवक्ता) का रूपमा राजधानीमा कार्यरत राईको साहित्यिक लेखन थालनी २०४६ सालमा भएको हो। 

उनको पहिलो प्रकाशित रचना कविता (नेपाली भाषामा) थियो, जुन समीक्षा साप्ताहिक, २०४८मा छापिएको थियो। उनका प्रकाशित रचना – कविता, गीत, गजल, लेख, निबन्ध (नेपाली र वाम्बुले राई भाषामा) छन्। उनका रचना मधुपर्क, गरिमा, समष्टि, मिर्मिरे, कविता (ने.प्र.प्र.), नव कविता, ‘स्रष्टा’ (कालेबुङ), ‘बिन्दू’ (असम), ‘लिब्जु-भुम्जु’, कान्तिपुर, गोरखापत्र, स्पेसटाइम, राजधानी आदीमा छापिएका छन्। 

उनको प्रकाशित कृति ‘नेपाली गीत संग्रह-२०५९’ (दुई सय स्रष्टाका गीतिसंगालो सम्पादन) हो। उनी ‘बरभञ्ज्याङ्ग’ चौमासिक गोजिका, ‘मानव अधिकार आवाज’, ‘लिब्जु-भुम्जु’ त्रिभाषीय त्रैमासिक (वाम्बुले राई भाषा, साहित्य र संस्कृति प्रधान पत्रिका- र ‘कौशिकी’ साहित्यिक पत्रिकामा संलग्न छन्। 

उनी मानव अधिकारवादी युवा कानुन व्यवसाय केन्द्र (ह्युरिन्पेक), आदिवासी मानव अधिकार सरोकार केन्द्र, काठमाडौं, कौशिकी साहित्य प्रतिष्ठान, काठमाडौंका संस्थापक सदस्य हुन् भने काठमाडौं जिल्ला नेपाल बार एसोसियसनका साधारण सदस्य छन्। 

राष्ट्रिय गान

सयौं थुङ्गा फूलका हामी, एउटै माला नेपाली

सार्वभौम भई फैलिएका, मेची महाकाली

प्रकृतिका कोटीकोटी सम्पदाको आँचल

वीरहरूका रगतले, स्वतन्त्र र अटल।

ज्ञानभूमि, शान्तिभूमि तराई, पहाड हिमाल

अखण्ड यो प्यारो हाम्रो मातृभूमी नेपाल।

बहुल जाति, भाषा, धर्म, संस्कृति छन् विशाल

अग्रगामी राष्ट्र हाम्रो, जय जय नेपाल।